Safer Internet Day 2025 !!
WorldLink & Nepal Govt. for Online Safety & Digital Literacy
प्रेस विज्ञप्ति
२९ माघ २०८१
काठमाडौं । Safer Internet Day अर्थात् सुरक्षित इन्टरनेट दिवस, हरेक वर्ष फेब्रुअरी महिनाको दोश्रो मंगलबार विश्वभर सचेतनामूलक विविध कार्यक्रमका साथ मनाउने गरिन्छ । यसपालि “Together For a Better Internet” मूलनाराका साथ विश्वव्यापी यो दिवस मनाइएको छ । जसरी इन्टरनेटको सदुपयोगले सबैतिर सहज तुल्याएको छ त्यसरी नै यसको दुरुपयोगले जीवनलाई नै जोखिममा पुर्याइरहेका थुप्रै-थुप्रै घटना छन् । त्यसो नहोस् भन्नका लागि सावधानीस्वरुप विशेष गरी बालबालिका र युवामा डिजिटल प्रविधिको सुरक्षित र सकारात्मक प्रयोगलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने हेतुले यो दिवस मनाइएको हो । विश्वका १ सय ७० भन्दा बढी देशमा सेफर इन्टरनेट डे विविध कार्यक्रमसहित मनाइरहँदा नेपालमा पनि नेपाल सरकार सूचना प्रविधि विभागसँगको सहकार्य तथा नेपालको नेतृत्वदायी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको आयोजनामा सेफर इन्टरनेट डे मनाइएको छ । जसअन्तर्गत डिजिटल साक्षरता, समावेशिता र सुरक्षित इन्टरनेट प्रयोगको सेरोफेरोमा दुई वटा सत्रमा छलफल तथा अन्तर्क्रिया भएको छ ।
उद्घाटन सत्र :
सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालले सुरक्षित इन्टरनेटका लागि कानूनी तथा नीतिगत व्यवस्थामा सरकार लागिपरेको बताउनुभएको छ । Safer Internet Dayका अवसरमा वर्ल्डलिंकले काठमाडौंमा आज गरेको एक दिवसीय अन्तर्क्रियात्मक कार्यक्रम उद्घाटन सत्रमा विभागका महानिर्देशक पौड्यालले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो ‘सूचनाप्रविधिलाई अघि बढाउने सोंच भएपनि इन्टिग्रेटेड एप्रोचमा लैजान सकिएको छैन । सुरक्षित इन्टरनेटका लागि सचेतना बढाउनु आवश्यक छ । नैतिक शिक्षा र समुदायमा सचेतनाका साथै प्राइभेट प्रोटेक्शनका लागि ऐन बनाउने तयारी भएको छ ।’
अनुपा भण्डारी जलान, प्रमोटर शेयरहोल्डर, लिडिङ सिएसआर डिपार्टमेन्ट अफ वर्ल्डलिंकले भन्नुभयो : ‘बालबालिका र युवा साइवर अपराधको जोखिममा छन् । वर्ल्डलिंक इन्टरनेट एकेडेमीले इन्टरनेट सेफ्टिबारे पछिल्लो तीन वर्षमा १ सय ३३ विद्यालयका १० हजार विद्यार्थीलाई सुसुचित गराएको छ । साइबर बुलिङ, ह्ययाकिङ आदिबाट जोगाउने मुख्य उद्देश्य हो ।’
त्यस्तै वर्ल्डलिंकका सिइओ केशव नेपालले ‘आइएसपीहरुले सूचप्रविधिको राजमार्ग बनाइरहेको र त्यहाँ चल्ने साधनमाथि निगरानी तथा नियमन राज्यको हुनुपर्ने’ बताउनुभयो । सुरक्षित इन्टरनेटका लागि हरेकिसिमको सहकार्य गर्न वर्ल्डलिंक तयार रहेको उहाँको भनाई थियो । यसपछि भएका दुई वटा सत्रमा स्रोतव्यक्ति र सहभागीहरुले सक्रिय सहभागिता जनाएका थिए । पुल्चोक इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको समूह लोकसले इन्टरनेट सुरक्षा तथा सचेतनाबारे अभियानमा वर्ल्डलिंकसँग सहकार्य गरेको छ । बालबालिका तथा किशोरकिशोरी मात्र नभएर अभिभावकमासमेत सचेतना आवश्यक रहेको जनाइएको छ । साइबर अपराधबाट जोगिन सतर्क रहने र परिहालेमा साइबर ब्यूरोमा उजुरी गरे कानूनी कारवाही हुने साइबर ब्यूरोका डिएसपी जनार्दन घिमिरेले जानकारी दिएका छन् । विद्यालय पाठ्यक्रममै इन्टरनेट सुरक्षालाई समेट्नुपर्ने र साइबर अपराधीमाथि कडा कारवाही हुने कानूनी व्यवस्था गर्नुपर्ने सरोकारवालाको तर्क थियो ।
पहिलो सत्र :
Building Digital Literacy and online safety in Nepal : Empowering Communities for secure Internet.
नेपालमा डिजिटल साक्षरता र अनलाइन सुरक्षाको निर्माण: सुरक्षित इन्टरनेटका लागि समुदायको सशक्तिकरण ।
पेनालिष्ट :
अनुपा भण्डारी जलान, प्रमोटर शेयर होल्डर, लिडिङ सिएसआर डिपार्टमेन्ट अफ वर्ल्डलिंक
राजकुमार महर्जन, निर्देशक, नेशनल साइबर सेक्युरिटी सेन्टर
रमेश शर्मा पौड्याल, महानिर्देशक, सूचना प्रविधि विभाग
सरोज लामिछाने, साइबर सुरक्षा विज्ञ
सहभागी : सूचनाप्रविधिसँग सम्बन्धित व्यक्तित्व र विद्यार्थी ।
दोश्रो सत्र :
Digital Divides Bridging : Promoting Online Safety and Inclusivity in Nepal’s growing Landscape
डिजिटल डिभाइड्स ब्रिजिङ: नेपालको बढ्दो परिदृश्यमा अनलाइन सुरक्षा र समावेशिता प्रवर्द्धन
पेनालिष्ट :
जनार्दन घिमिरे, डिएसपी, साइबर ब्यूरो
कपिलराज अर्याल, एशोसिएट प्रोफेसर, काठमाडौं स्कूल अफ ल
प्रज्ञा शाह कार्की, प्रतिनिधि, युनिसेफ
रुपा क्षेत्री प्रधान, बाल मनोवैज्ञानिक
सहभागी : सूचनाप्रविधिसँग सम्बन्धित व्यक्तित्व र विद्यार्थी ।